चिकित्सक सङ्घको कडा आन्दोलनः आकस्मिक बाहेकका सेवा शुक्रबारदेखि ठप्प

काठमाडौं, वैशाख १२ – चिकित्सकहरूले शुक्रबारबाट आकस्मिक र सघन उपचारबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलन चर्काउने घोषणा गरेका छन्। नेपाल चिकित्सक सङ्घले एक विज्ञप्ति जारी गर्दै शुक्रबार देशभरका सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिक र प्रतिष्ठानमा सबै नियमित सेवा बन्द गरिने जनाएको हो।
बिहीबार माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक प्रतिनिधि र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबीचको वार्ता निष्कर्षविहीन भएपछि सङ्घले आन्दोलनको स्वरूप कडा बनाउने निर्णय लिएको हो।
नेपाल चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा निर्णय गरिएको सरकारी आठौँ तह बराबरको भत्ता दिनुपर्ने माग गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू ३० दिनदेखि आन्दोलनमा छन्। तर, सरकारले गम्भीरतापूर्वक चासो नदेखाएको आरोप लगाउँदै सङ्घले सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने निर्णयमा पुगेको जनाएको छ।

सङ्घका अध्यक्ष डा. अनिल बिक्रम कार्कीका अनुसार, बुधबार २४ घण्टाभित्र माग सम्बोधन नभए सघन र आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिने चेतावनी दिइएको थियो, जसअनुसार शुक्रबारदेखि आन्दोलन व्यापक बनाइएको हो।
शुक्रबार काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मन्त्रालय घेराउ गर्नेछन् भने उपत्यका बाहिरका चिकित्सक र स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालय घेर्ने कार्यक्रम तय गरिएको छ।
सरकार र आन्दोलनरत पक्षबीचको वार्ता पुनः कहिले हुने हो भन्ने अझै टुङ्गिएको छैन।
