
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग औपचारिकरूपमा यात्रा सुरु गरेका छन्। शनिबार मुलपानी क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा ललले नेपाली क्रिकेटप्रतिको आफ्ना भावना र योजना सार्वजनिक गर्दै नयाँ यात्राको सुरुवात गरेका हुन्।
पत्रकारहरूसँगको अन्तरक्रियामा लले नेपाली युवा खेलाडीमा देखिएको अद्भुत प्रतिभाले आफूलाई आकर्षित गरेको उल्लेख गरे। “नेपालसँग काम गर्न पाउनु मेरो लागि सौभाग्य हो,” लले भने, “युवाहरूमा विश्वस्तरीय प्रतिभा देखेपछि म उत्साहित भएर प्रशिक्षक पदका लागि आवेदन दिएको हुँ। हाम्रो मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्याउनु हो।”
लले नेपालको व्यावसायिक क्रिकेट संरचना, उपलब्ध अभ्यास सुविधा र हालसम्मको क्रिकेट संस्कारप्रति सन्तोष व्यक्त गरे। उनले तत्काल व्यापक परिवर्तनभन्दा टिमभित्र प्रत्येक खेलाडीको भूमिकामा स्पष्टता ल्याउनेतर्फ ध्यान केन्द्रित गर्ने योजना सुनाए। “जुनसुकै सफल टोलीले पनि पहिलो प्राथमिकता भूमिकाको स्पष्टता दिन्छ,” उनले जोड दिए।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले पनि कार्यक्रममा नयाँ प्रशिक्षकप्रति विश्वास व्यक्त गरे। “हामीले अहिले प्रशिक्षकलाई अत्यधिक अपेक्षा राखेर दबाब दिनु हुँदैन,” खड्काले भने, “पहिलो प्राथमिकता एकदिवसीय मान्यता कायम राख्नमा दिनुपर्छ।”

खड्काले नेपाली क्रिकेटको दीर्घकालीन सुधारका लागि संघले निरन्तर प्रयास गरिरहेको जानकारी गराए। “अबको यात्रामा आधारभूत संरचना सुधार र दीगो विकासमा केन्द्रित भइ काम भइरहेछ,” उनले थपे।
शनिबारदेखि नै स्टुअर्ट लले नेपाली टोलीसँग प्रशिक्षण सुरु गरेका छन्। नेपाली टिम हाल जुन महिनामा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको महत्वपूर्ण शृंखलाको तयारीमा जुटिरहेको छ। उक्त शृंखला नेपालको आगामी विश्वकप सपना साकार पार्न निर्णायक हुने बताइएको छ।
लको आगमनसँगै नेपाली क्रिकेट प्रेमीहरूमा नयाँ उत्साह थपिएको छ। अब हेर्न बाँकी छ, नयाँ नेतृत्वमा नेपालको क्रिकेट यात्राले कस्तो मोड लिन्छ।
