
नयाँदिल्ली । जम्मू–कश्मीरमा हालैको नरसंहारपछि भारतीय सुरक्षाकर्मीहरूले आतंकवादविरुद्ध कडा कारबाही थालेका छन्। शनिबारदेखि कश्मीर क्षेत्रमा आतंककारी र तिनीहरूको सहयोगी सञ्जाललाई पूर्ण रूपमा नष्ट गर्न चौतर्फी अभियान जारी छ।
सुरक्षाबलहरूले आतंककारीहरूका घरहरू ध्वस्त पार्नुका साथै, पूर्व आतंककारी र भूमिगत सहयोगीहरूको व्यापक पहिचान र सोधपुछ गरिरहेका छन्। श्रीनगरमा मात्रै करिब ६४ आतङ्ककारी र सहयोगीहरू लुकेर बसेको अनुमान गरिएको छ। अनन्तनाग जिल्लामा १८८ जना हिरासतमा परेका छन् भने समग्र कश्मीरमा २,५०० भन्दा बढी व्यक्तिहरूलाई सोधपुछका लागि प्रहरी चौकीमा बोलाइएको छ।
जेलमा रहेका २४ भन्दा बढी आतंककारी र भूमिगत सहयोगीहरूसँग समेत थप अनुसन्धान भइरहेको छ। सुरक्षाबलहरूले विभिन्न स्थानमा विशेष चेकपोस्टहरू स्थापना गरेका छन् र पछिल्ला दुई दिनमा ती नाकाबाट आतंककारीका ६ जना सहयोगीहरू हतियारसहित पक्राउ परेका छन्।

शनिबार बिहान कुलगाममा लश्कर-ए-तोइबा संगठनसँग आवद्ध आतंककारी शाहिद अहमद कुटे र शोपियानमा आतंककारी जाकिरको घर ध्वस्त पारिएको थियो। कुपवाडामा पनि लश्करका फारुक र अर्का एक आतंककारीको घर भत्काइएको छ।
त्यस्तै शनिबार साँझ शोपियानको जैनापोरामा टीआरएफ संगठनका आतंककारी अदनान शफी डारको घर पनि विस्फोटक प्रयोग गरेर ध्वस्त पारिएको छ। पछिल्लो २४ घण्टामा मात्रै सुरक्षाबलहरूले जम्मु–कश्मीर उपत्यकामा ९ आतंककारीका घरहरू ध्वस्त पारेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
