
काठमाडौं । आगामी २४ घण्टामा देशका धेरै भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय छ।
आज आइतबार, कोशी प्रदेश र मधेस प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। दिउँसो कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। साथै, देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको अवस्थामा पनि कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहनेछ। राति कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि औंल्याइएको छ।
