
काठमाडौं । शिक्षक र विद्यालय कर्मचारीमाथि कतिपय स्थानीय तहबाट सरुवा र राजीनामाको धम्की आइरहेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले गम्भीर आपत्ति जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक आन्दोलनमाथि देखिएको हस्तक्षेपप्रति विरोध जनाएका हुन्। विज्ञप्तिमा संविधानले शिक्षक र कर्मचारीलाई दिएको सामूहिक सौदाबाजी र विरोध प्रदर्शन गर्ने अधिकारलाई सम्मान गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।

महासंघले आन्दोलन दबाउन गरिएको धम्की, अन्यायपूर्ण सरुवा र राजीनामाको दबाबलाई गैरसंवैधानिक बताउँदै सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई यस्ता गतिविधिबाट विचलित नहुन आह्वान गरेको छ। साथै, ऐन संशोधनको मागलाई अझ सशक्त बनाउँदै जारी आन्दोलनलाई थप उर्जा दिन आग्रह गरिएको छ।
महासंघका अनुसार गुणस्तरीय शिक्षा सुनिश्चितता र शिक्षक–विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐनको माग गर्दै सुरु भएको आन्दोलन अहिले निर्णायक मोडमा पुगेको छ। आन्दोलनलाई थप प्रभावकारी बनाउन महासंघले देशभरका शिक्षक र कर्मचारीलाई काठमाडौंमा भेला हुन समेत आग्रह गरेको छ।, २०८१ चैत २० गतेदेखि सुरु भएको यो शैक्षिक आन्दोलन हालसम्म २५ दिन नाघिसकेको छ।
