
कपिलवस्तु — महाराजगञ्ज नगरपालिकाको सहयोग र माइक्रोटे ट्रेनिङ एकेडेमीको सहकार्यमा सञ्चालित हाउस वायरिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बेरोजगार युवालाई लक्षित गरी सञ्चालन गरिएको सो तालिमको समापन समारोहमा नगरप्रमुख अब्दुल कलामले सिकेको सीप गाउँसमाजमै प्रयोग गर्न आग्रह गर्नुभएको छ।
नगरप्रमुख कलामले नगरपालिकाले युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो। उहाँले सिकेका सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्ने अवसरलाई सदुपयोग गर्न युवाहरूलाई प्रेरित गर्नसमेत आग्रह गर्नुभयो।
समारोहमा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीले यस्ता तालिमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो।

तालिममा सहभागी युवाहरूले हाउस वायरिङसम्बन्धी महत्वपूर्ण सीप सिकेको अनुभव सुनाउँदै खुसी व्यक्त गरेका थिए। माइक्रोटे ट्रेनिङ एकेडेमीका सञ्चालक अनिल अधिकारीले तालिमले युवाहरूलाई दक्ष बनाउने र आत्मनिर्भर बनाउने दिशामा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाले आगामी दिनहरूमा पनि युवालाई लक्षित गर्दै यस्ता सिपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
