
काठमाडौं, — कोरियामा रोजगारको सपना बोकेर भाषा परीक्षा पास गरेका नेपाली युवाहरू लामो प्रतीक्षा पछि अब सडकमै उत्रिन बाध्य भएका छन्। ललितपुरको ग्वार्कोमा रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस (Employment Permit System) कोरिया शाखा अगाडि उनीहरूले तीन दिनदेखि धर्ना दिइरहेका छन्।
धर्नामा सहभागी निराजन सिंहका अनुसार, “हामीले सन् २०२३ को अन्त्यतिर कोरियन भाषा परीक्षा पास गरेका हौं। तर, अहिले सम्म १८ महिना बितिसक्दा पनि काममा जान पाएका छैनौं।”
उनले जानकारी दिएअनुसार, सिप बिल्डिङ (पानीजहाज निर्माण) क्षेत्रमा काम गर्नका लागि परीक्षा पास गरेका करिब ४ हजार जनामध्ये केवल ४ सय जति मात्र कोरिया जान सफल भएका छन्। बाँकी झन्डै ३ हजार जना अझै पनि प्रतिक्षामा छन्, र उनीहरूको दुई वर्षे रोस्टर अवधि पनि अब केही महिनामात्र बाँकी छ।

“यदि समयमै जान पाइन भने हाम्रो सबै मिहिनेत र सपना निरर्थक हुन्छ,” निराजनले आक्रोश पोखे।
युवाहरूले सिप बिल्डिङ क्षेत्रमा अवसर नपाएमा अन्य क्षेत्रमा समायोजन गरेर भए पनि रोजगारमा पठाउनु पर्ने माग राखेका छन्। उनीहरूको भनाइ छ — सरकारले चुप लागेर बस्ने होइन, समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिनु पर्छ।
धर्नामा रहेका सहभागीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
