
कपिलवस्तुको शिवराजमा अब महिलाहरूले आफ्नो सिपलाई इतिहासको पाना मात्र होइन, भविष्यको ढोका पनि बनाउनेछन्। शिवराज नगरपालिका–५ को सहयोग र थारु कल्याणकारिणी सभा, नगर कार्यसमितिको आयोजनामा २० दिने ढकिया बुन्ने तालिम सुरु भएको छ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै भनिन्, “हामीले हाम्रो संस्कृति र सिपलाई बिर्सनु हुँदैन। यस्ता तालिमहरू महिलाहरूलाई आत्मनिर्भर बनाउन, घरभित्रको सीमाबाट बाहिर ल्याउन र आर्थिक रूपमा सक्षम बनाउन महत्वपूर्ण छन्।”
ढकिया बुन्ने यो सीप सिकेपछि महिलाहरूले घरमै बसेर आम्दानी गर्न सक्छन्। तर, तालिमको उद्देश्य केवल बुन्ने कला सिकाउनु मात्र होइन—साथमा बजार व्यवस्थापन, गुणस्तर सुधार, र सिपलाई व्यवसायमा रूपान्तरण गर्ने प्रशिक्षण पनि प्रदान गरिने आयोजक प्रकाश चौधरीले जानकारी दिए।

वडा नं ५ का वडाध्यक्ष नेत्र बेलबासेले भने, “सिप सिकेर आत्मनिर्भर बन्नु पहिलो पाइलो हो। तर सिकिएको सिपलाई बजारसम्म पुर्याउनु, त्यसको मूल्य पाउनु र सम्मान पाउनु नै हाम्रो लक्ष्य हो।” वडाले बजार प्रबर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।
तालिममा १५ जना महिलाहरू सहभागी छन्, जसले ढकियामार्फत आफ्नो पहिचान बुन्दै आत्मनिर्भर जीवनको नक्सा कोर्न थालेका छन्।
शिवराजमा सिप अब केवल कला होइन, सम्भावनाको सुरुवात हो।
