
काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादी शक्ति छाडा भएर माओवादी र गणतन्त्रविरुद्ध आक्रामक बन्दै गएको आरोप लगाएका छन्। उनले यस्ता शक्तिले आक्रमण गरेमा प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हालको राजनीतिक परिस्थिति प्रति सचेत रहन आग्रह गरे। उनले राजावादीहरूले पैसाको बलमा भाडाका मानिसमार्फत अशान्ति फैलाउने प्रयास गरिरहेको दाबी गरे।
“राजावादीहरूले माओवादी र प्रचण्डलाई एक्लो पार्ने, जनतालाई भ्रममा पार्ने र गणतन्त्रविरुद्धको वातावरण बनाउन खोजिरहेका छन्,” प्रचण्डले भने, “गणतन्त्र हाम्रो मात्र नभई सबै जनताको हो।”

उनले अहिले माओवादीको काँधमा समाजवादी गणतन्त्रतर्फको यात्रा अघि बढाउने जिम्मेवारी रहेको बताए। यथास्थितिवाद र प्रतिगमनविरुद्धको संघर्ष जारी रहने उल्लेख गर्दै, गणतन्त्रको विकास माओवादीकै नेतृत्वमा हुने दाबी गरे।
प्रचण्डले भ्रष्टाचार, कुशासन र इमान्दारहरूमाथिको दमनलाई प्रतिगमनको संकेतका रूपमा व्याख्या गरे। उनका अनुसार, यी गतिविधिका कारण प्रतिगमनको शक्ति फेरि उब्जन थालेको छ।
अन्त्यमा उनले पार्टीलाई जनतासँग पुनः जोडेर नयाँ अभियान सुरु हुने घोषणा गर्दै, माओवादी आन्दोलनलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाए।
