
डिभिजन वन कार्यालय महोत्तरीमा कार्यरत एक कर्मचारीको सर्पदंशका कारण मृत्यु भएको छ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–१० लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय रुपेश महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ। उनी डिभिजन वन कार्यालय अन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा करार सेवामा कार्यरत थिए।

प्रहरीका अनुसार गएराति करिब १ बजे सुतिरहेको अवस्थामा महतोको पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक सर्पले डसेको थियो। परिवार र सहकर्मीले उनलाई तत्कालै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास लगिएको भए पनि उपचारको क्रममा आज बिहान ५:१५ बजे उनको मृत्यु भएको हो।
महतो करिब एक वर्षदेखि सोही कार्यालयमा भान्सेका रूपमा कार्यरत थिए। उनको असामयिक निधनले कार्यालय र स्थानीय समुदायमा शोकको छायाँ छाएको छ।
स्थानिय बासिन्दाले विषालु सर्पको सक्रियताले पुनः जनस्वास्थ्यप्रति खतरा बढेको भन्दै, जोखिमयुक्त क्षेत्रहरूमा तत्काल जनचेतना र सर्पदंश उपचार केन्द्रहरूको सुदृढीकरणको माग गरेका छन्।
