
कपिलवस्तु , असोज २०
चाडपर्वका बेला यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउन कपिलवस्तुका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
नजिकिँदै गरेको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवा बसपार्कसहित जिल्लाका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरेको हो । तौलिहवा बसपार्कमा आज आयोजित कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले यात्रु सहायता कक्षको उद्घाटन गर्नुभयो । चाडपर्वका बेला नागरिकको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज वातावरण दिनु सबै सरोकारवाला निकायको साझा दायित्व रहेको उहाँले बताउनुभएको छ । स्थानीय तहका तर्फबाट आवश्यक सहकार्य गर्न नगरपालिका तयार रहेको समेत उहाँले बताउनुभएको छ ।
यस्तै, कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले चाडपर्वको समयमा यात्रुको आवतजावत व्यवस्थापनसँगै शान्ति सुरक्षाको विषय पनि महत्वपूर्ण रहने बताउनुभयो । यात्रु सहायता कक्षले यात्रुलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउन प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक, मनोहर प्रसाद भट्टले दशैँ, तिहार र छठजस्ता ठूला पर्वमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित समस्या र जोखिमलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको बताउनुभएको छ । यात्रुको गुनासो तत्काल सुन्ने र आवश्यक सहयोग तथा समन्वय गर्ने गरी प्रहरी परिचालन गरिएको समेत उहाँले बताउनुभएको छ ।

यस्तै, प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले यात्रुलाई आवश्यक सूचना, सुरक्षा र तत्काल सहयोग उपलब्ध गराउनु नै यात्रु सहायता कक्ष स्थापना गर्नु रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले चाडपर्वको समयमा यात्रुको सुरक्षा र सहज यात्राका लागि सञ्चारमाध्यमले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
सहायता कक्षमार्फत यात्रुका गुनासा तथा समस्या सुन्ने, आवश्यक जानकारी उपलब्ध गराउने र समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ । चाडपर्वको समयमा यात्रुको आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्लाका विभिन्न स्थानमा सुरक्षा निगरानीसमेत बढाइएको छ ।
चाडपर्वका बेला यात्रुको चाप बढ्ने र विभिन्न समस्या आउन सक्ने भएकाले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवा बसपार्कसहित कृष्णनगर, मर्यादपुर, चाकाचौडा, चन्द्रौटा, बहादुरगञ्ज, गोरुसिङ्गे, पिपरा र पकडीमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो

