
भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ। पछिल्ला केही दिनमा संक्रमण दर उच्च भएको देखिन्छ। केवल ९ दिनको अवधिमा ५८ जनाले ज्यान गुमाएका छन् भने पछिल्ला दुई हप्तामा संक्रमितको संख्या २३ गुणाले वृद्धि भएको छ।
अन्तिम २४ घण्टामा मात्रै ३७८ नयाँ संक्रमित थपिएका छन्, जससँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार नाघेर ६,१३३ पुगेको छ। सोही अवधिमा ६ जनाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सरकारी तथ्यांकअनुसार, सबैभन्दा धेरै प्रभावित राज्य केरल रहेको छ। केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा पनि नयाँ केसहरू रिपोर्ट भएका छन्। यद्यपि, विज्ञहरूका अनुसार हाल देखिएको कोभिडको नयाँ भेरियन्ट खतरनाक भने छैन।

पछिल्ला ४८ घण्टामा मात्रै ७६९ नयाँ संक्रमित थपिएका छन्। ती सबै केसहरू सामान्य प्रकृतिका भएका र अधिकांश बिरामीहरू घरमै आइसोलेसनमा उपचार गरी निको भैरहेका बताइएको छ। अरुणाचल प्रदेश र मिजोरममा भने हाल सक्रिय संक्रमित छैनन्।
गत मे २२ मा भारतभर जम्मा २५७ सक्रिय केस मात्रै थिए, तर संक्रमण दर तीव्र बढ्दै गएपछि अहिले संख्या ६ हजार नाघेको हो। यस्तो परिस्थितिमा केन्द्र सरकारले सबै राज्यहरूलाई अक्सिजन, आइसोलेसन बेड, भेन्टिलेटर तथा आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएको छ
