आज र भोलिसम्म तापक्रम अझै उकालो लाग्ने, बिहीवारबाट वर्षा हुने

काठमाडौंसहित देशभर गर्मी तीव्र रूपमा बढिरहेको छ। पानी पर्न कम भएपछि तापक्रम चर्किएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलिसम्म तापक्रम अझै उकालो लाग्ने अनुमान गरिएको छ।
आजको सर्वाधिक तापक्रम सुदूरपश्चिमको धनगढीमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा पनि तापक्रम २९ देखि ३१ डिग्रीसम्म रहनेछ, मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
उनका अनुसार मनसुन भित्रिएको भए पनि कोशी प्रदेशमै रोकिएपछि देशभर मनसुनी वर्षा व्यापक हुन सकेको छैन। मनसुन असार १४ गते कोशी प्रदेशबाट प्रवेश गरे पनि त्यसपछिको दिनहरूमा वर्षा न्यून भएपछि गर्मी चर्किएको हो। दाहालका अनुसार यही साताभित्र मनसुन देशभर फैलिने अपेक्षा गरिएको छ।

मौसमविद् विनोद पोख्रेलका अनुसार पर्सी बुधवारदेखि केही स्थानमा हल्का वर्षा सुरु हुने सम्भावना छ भने बिहीवारबाट देशका विभिन्न भागमा उल्लेख्य वर्षा हुने अनुमान गरिएको छ। वर्षा बढेसँगै तापक्रम क्रमशः घट्ने उनले बताए।
हाल देशको पश्चिमी र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय देखिएको छ।
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागहरूमा मौसम मुख्यतः सफा वा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान र अन्य पहाडी क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
