
गाईघाट – सातादेखि लगातार विद्युत् कटौती हुँदा आक्रोशित उपभोक्ताले मंगलबार नेपाल विद्युत् प्राधिकरणको गाईघाट वितरण केन्द्र घेराउ गरेका छन्।
त्रियुगा नगरपालिका–३ भुल्केका ५ सयभन्दा बढी उपभोक्ताले बिहान ११ बजेदेखि प्राधिकरण कार्यालयमा प्रदर्शन गरे। कार्यालय प्रमुख अनुपस्थित भएपछि प्रदर्शनकारीले मिटर बक्सको एमसिबि बन्द गराउँदै कार्यालय भवनलाई केही समय विद्युत् बिहीन बनाए।
अढाई घण्टा लामो छलफलपछि प्राधिकरणले सर्पदंश उपचार केन्द्रमा नियमित विद्युत् आपूर्ति गर्ने, समस्या देखिए तत्काल मर्मत टोली खटाउने र दीर्घकालीन समाधानका लागि छुट्टै ट्रान्समिटर जडान गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको छ।

सर्पदंश उपचार केन्द्रमा पछिल्लो सातादेखि विद्युत् अवरुद्ध हुँदा बिरामीलाई अन्यत्र रिफर गर्नु परेको थियो। उपचार केन्द्रकी अध्यक्ष पवित्रा गिरीका अनुसार २४ घण्टा विद्युत् आपूर्ति नहुँदा बिरामीले समयमै उपचार पाउन नसकेका छन्।
प्राधिकरणका प्रमुख माधवप्रसाद यादवले क्षमताभन्दा बढी लोडका कारण बारम्बार समस्या आएको र फिडर विस्तारमा ढिलाइ भएको स्वीकारे। समस्या समाधानका लागि प्राधिकरणले दीर्घकालीन योजना अघि बढाइसकेको उनले बताए।
