
कपिलवस्तु – कपिलवस्तुका कृषक जेठ सकिएर असार सुरु हुँदा पनि पर्याप्त वर्षा नहुँदा चिन्तित भएका छन्। समयमै पानी नपर्दा धानको बीउ छर्न नपाएका किसानहरूले ताैलेश्वर महादेव मन्दिरमा पूजापाठ गर्दै वर्षाको कामना गरेका छन्।
पम्पिंग सेट र माटर प्रयोग गरी सिँचाइ गरिए पनि चर्को घामका कारण बीउ उम्रन सकेको छैन। विशेष गरी जिल्लाको उत्तरी भेगका महिलाहरू मन्दिरमा दूध चढाउँदै भजन-कीर्तनमा सहभागी भइरहेका छन्।
कृषकहरूको आशाले शिवजीलाई वर्षाको पुकार गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार कसौधनले बताए। “दिनहुँ हजारौँ भक्तजनहरू मन्दिरमा पानीको माग गर्दै आइरहेका छन्,” उनले भने।
जिल्लाका ७१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २० प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ। नदीनाला र कुलो सुकेका कारण कृषकहरू थप समस्यामा छन्।

गत वर्ष जेठ अन्त्यदेखि रोपाइँ सुरु भए पनि यस वर्ष धानको बीउसमेत छर्ने अवस्था छैन। यद्यपि, पूजापाठ र कीर्तनमार्फत किसानहरूले वर्षाको आशा कायम राखेका छन्। स्थानीय परम्पराअनुसार भ्यागुताको विवाह र विशेष पूजा गर्ने तयारी समेत थालिएको छ।
अहिलेसम्मको खडेरीले जिल्लाको कृषिमा गम्भीर असर गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
