
कपिलवस्तु, बिजयनगर –
बिजयनगर गाउँपालिका–५, नैरंगिया गाउँकी ४५ वर्षीया जन्ममति यादवको चट्याङ लागेर मृत्यु भएको छ। बुधबार साँझ करिब ५:३० बजेको समयमा डालपुर–नयाँबस्ती नजिकको खेतमा भैँसी चराउँदै गर्दा चट्याङको चपेटामा परेकी थिइन्।
स्थानीय प्रहरीका अनुसार, पानीसँगै मेघगर्जन सुरु भएपछि उनी ओत लाग्न नजिकैको पिपलको रुखमुनि बसेकी थिइन्। त्यही क्रममा अचानक चट्याङ खस्दा घटनास्थलमै उनको ज्यान गएको इलाका प्रहरी कार्यालय, गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
स्थानीय बासिन्दाले घटनापछि गाउँमा शोकको वातावरण छाएको जनाएका छन्।
