
दैलेख — दैलेखको जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारणस्थलका रूपमा उदाएको छ। चीनको जियोलोजिकल सर्भे कम्पनीले गरेको प्रारम्भिक अनुसन्धानले जलजलेमा मात्रै १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको पुष्टि गरेको छ। यो तथ्यले नेपालको ऊर्जा आत्मनिर्भरताको सपना सम्भव हुने आशा जगाएको छ।
२०७८ सालमा सुरु भएको पहिलो ड्रिलिङ कार्य ४,०१३ मिटर गहिराइसम्म पुर्याइएको थियो। यो चार सम्भावित कुइँकानमध्ये एकको मात्रै प्रारम्भिक नतिजा हो। बाँकी तीन कुइँकानबाट अझै ४३० अर्ब घनमिटरसम्म ग्यास हुन सक्ने अनुमान गरिएको छ, जसले देशको ग्यास आवश्यकतालाई करिब ५० वर्षसम्म धान्न सक्छ।
नेपाल–चीनबीच २०१९ मा भएको सरकारी सम्झौतापछि सुरु गरिएको यो अन्वेषण चीन सरकारको सहयोगमा सञ्चालित नमुना परियोजना हो। प्रारम्भिक लागत करिब २ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको यो परियोजना कोभिडका कारण केही ढिलो भए पनि, कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल भएको छ।
पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार अहिलेको प्रतिवेदन प्रारम्भिक हो। ग्यासको गुणस्तर, उत्पादनको सम्भाव्यता र आर्थिक लाभबारे विस्तृत परीक्षण भइरहेको छ। चिनियाँ पक्षले सन् २०२५ को अन्त्यसम्म अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ।

दैलेखमा जमिन आफैंबाट बल्ने र ग्यास चुहिने घटना पुरानै भए पनि यो वैज्ञानिक पुष्टि भने महत्वपूर्ण मोडको संकेत हो। २०७२ सालमा भारतले गरेको नाकाबन्दीपछि इन्धन संकट झेलेको नेपालले स्वदेशी स्रोतमा ध्यान दिन थालेको थियो। त्यसै सन्दर्भमा जलजलेमा सुरु भएको अन्वेषणले ऊर्जा सुरक्षाको नयाँ ढोका खोल्ने सम्भावना देखिएको हो।
स्थानीय स्तरमा पनि यो परियोजनाले रोजगारी, पूर्वाधार विकास र औद्योगिक वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापा भन्छन्, “ग्यास उत्खनन र प्रशोधन कार्यले स्थानीय जनशक्ति र व्यवसायलाई नयाँ गति दिनेछ।”
यदि प्रारम्भिक अनुमानअनुसारको भण्डारण पुष्टि भयो भने, नेपाल इन्धन आयातको भारी बोझबाट मुक्त हुँदै ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्ने दिशातर्फ अघि बढ्नेछ।
