
एसएम न्यूज
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे नेपाल र भारतका कूटनीतिक निकायबीच छलफल सुरु भएको छ। सरकारले कार्यकालको एक वर्ष पूरा गर्नै लाग्दा बल्ल औपचारिक रुपमा भारत भ्रमणको तयारी थालिएको हो।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार असारको तेस्रो सातापछि भ्रमण तय गर्ने गरी दुई देशका कूटनीतिक तहमा छलफल भइरहेको छ। तर अघिल्ला पटक जस्तै छलफल भएर पनि भ्रमण स्थगित हुने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले औपचारिक जानकारी दिन चासो देखाएको छैन।
यसअघि बिमस्टेक (बंगालको खाडीको प्रयास) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्यान्डको बैंकक गएका बेला भारत भ्रमणबारे चर्चा भएको थियो। बैंककको माडारिन ओरियन्टल होटलमा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एक्लाएक्लै भेटमा भ्रमणको सम्भाव्य मिति तय गर्ने सहमति भएको थियो। तर भारतको आन्तरिक पात्रो र प्राथमिकताको कारण भ्रमण अगाडि बढ्न सकेको थिएन।

प्रधानमन्त्री ओलीले गत ३१ असारमा पदभार ग्रहण गरेयता भारत भ्रमणको लागि निरन्तर प्रयास गर्दै आएका थिए। तर भारतीय पक्षको पर्याप्त चासो नदेखिएकाले भ्रमण सम्भव हुन सकेको थिएन। ओलीले यसअघि १७–२९ मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए। चीनबाट फर्किएपछि भारत भ्रमण चाँडै हुने बताएका थिए, तर त्यो पनि टुंगोमा पुग्न सकेन।
२२ चैतमा बैंककमा भएको बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई भ्रमणको निमन्त्रणा दिएका थिए भन्ने दाबी भए पनि स्वदेश फर्किएपछि भारत भ्रमणको विषय फेरि मिडिया र सार्वजनिक बहसबाट हराएको थियो।
हाल कूटनीतिक तहमा पुनः सक्रियता देखिन थालेकाले प्रधानमन्त्रीको भारत भ्रमण आगामी केही हप्ताभित्र सम्भव हुने अपेक्षा गरिएको छ। तथापि, भ्रमण कहिले हुने भन्ने विषयमा औपचारिक घोषणाको प्रतीक्षा भने कायमै छ।
