
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा आगामी साताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ। परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएकाले नतिजा केही दिन ढिलो भएको हो।
यस वर्षको परीक्षा चैत्र १९ गते सम्पन्न भएको थियो। हाल समपरीक्षण र तथ्यांक इन्ट्रीको कार्य अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। पाँच लाख १७ हजार विद्यार्थीका करिब ४० लाख उत्तरपुस्तिका परीक्षण भइसकेको छ।

गत वर्ष २० प्रतिशत मात्र उत्तरपुस्तिका समपरीक्षण गर्दा धेरै त्रुटि देखिएकाले यसपटक सम्पूर्ण पाना परीक्षण गर्न निर्देशन दिइएको छ। परीक्षकले प्रति उत्तरपुस्तिका २४ रुपैयाँ र सम्परीक्षकले ६ रुपैयाँ पारिश्रमिक पाउने छन्।
बोर्डले त्रुटिरहित नतिजा प्रकाशनमा जोड दिएको छ। अध्यक्ष डा. महाश्रम शर्माले शिक्षक आन्दोलनले ढिलाइ गरे पनि नतिजा गुणस्तरीय बनाउने प्राथमिकता रहेको बताए।
