
नेपालगञ्ज–सिमकोट हवाई मार्ग आज भारतीय तीर्थयात्रुहरूको उल्लेख्य चहलपहलले व्यस्त देखिएको छ। आज मात्रै विभिन्न निजी वायुसेवा कम्पनीले नेपालगञ्जदेखि हुम्लाको सिमकोटसम्म १४ वटा उडान गरेका छन्। ती उडानमार्फत १५० जना भारतीय नागरिक सिमकोट आइपुगेका हुन्।
सीता, समिट र तारा एयरमार्फत संचालित ती उडानहरू हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गरेका हुन्। सडकमार्गबाट देशको अन्य भागसँग अझै नजोडिएको हुम्लामा हवाईमार्ग नै प्रमुख यातायातको माध्यम हो।
भारतीय तीर्थयात्रीहरू सिमकोट हुँदै हिल्सा नाकातर्फ लाग्छन्, जहाँबाट उनीहरू चीनको तिब्बतस्थित मानसरोवर ताल र कैलाश पर्वतको दर्शन गर्न जान्छन्। धार्मिक दृष्टिले अत्यन्त पवित्र मानिने यी स्थलहरूमा पुग्न काठमाडौँ–केरुङ मार्गको तुलनामा सिमकोट–हिल्सा मार्ग छोटो र सजिलो भएकोले भारतीय पर्यटकहरूले यही मार्गलाई प्राथमिकता दिने गरेका छन्।
सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीका अनुसार पछिल्लो समय मानसरोवर यात्रा गर्न चाहने भारतीय पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। उनका अनुसार असार २ गतेदेखि मात्रै ३६२ जना भारतीय यात्री हवाईमार्ग हुँदै सिमकोट आइपुगेका छन्। त्यसअघि जेठ २४ गते पनि १२ जना विदेशी पर्यटक सिमकोट आएका थिए।

सिमकोट आइपुगेपछि ती यात्रीहरू हेलिकोप्टर वा जीपमार्फत हिल्सा पुग्ने गर्छन्। हिल्सा नेपालको उत्तरपश्चिमी सिमानामा पर्ने प्रमुख नाका हो, जहाँबाट उनीहरू चीनको प्रवेशद्वार हुँदै मानसरोवर यात्रा प्रारम्भ गर्छन्।
हुम्लाको भौगोलिक कठिनाइ र यातायातको पहुँच अभावबीच पनि धार्मिक पर्यटकहरूको बाढी स्थानीय अर्थतन्त्रका लागि एक अवसरको रूपमा देखिएको छ। यहाँको पर्यटन व्यवसाय, होटेल, यातायात र स्थानीय व्यापारमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको स्थानीय व्यवसायीहरू बताउँछन्।
यस वर्ष मानसरोवर यात्राको मौसम सुरु भएयता सिमकोट विमानस्थलमा दैनिकजसो भारतीय पर्यटकको आगमन भइरहेकाले प्रशासन र सुरक्षा निकाय पनि सक्रिय बनेका छन्। मौसमअनुकूल रहन सकेमा आगामी दिनमा पर्यटकको संख्या झनै बढ्ने अपेक्षा गरिएको छ।
