
कपिलवस्तुको बाणगंगा नगरपालिकाले दुग्ध उत्पादक किसानहरूको उत्पादन र आय वृद्धि गर्ने उद्देश्यले साढे २२ लाख रुपैयाँ बराबरको अनुदान सहयोग प्रदान गरेको छ। नगरभित्रका किसानहरूको जीवनस्तर उकास्न तथा दुग्ध व्यवसायलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले सोही अनुरुप शनिबार वडा नं. २ मा रहेको कैलाश आश्रम कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध ५० जना दुग्ध उत्पादक किसानहरूलाई ५० प्रतिशत अनुदानमा १/१ वटा दुधालु भैंसी हस्तान्तरण गरिएको बताउनुभयो ।
नगर प्रवक्ता विष्णु प्रसाद पौडेलका अनुसार, अनुदान रकमबाट किसानहरूले दुधालु भैंसी खरिद गर्न, गोठको संरचना सुधार गर्न, चार मेसिन जडान गर्न, पशुहरूको स्याहारका लागि काउ म्याट प्रयोग गर्न र दुधको संकलन तथा ढुवानीका लागि मिल्क क्यान खरिद गर्न सकेका छन्। उनका अनुसार, दुग्ध उत्पादन प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै किसानलाई आत्मनिर्भर र व्यवसायिक बनाउने नगरपालिकाको दीर्घकालीन योजना अनुसार यो कार्यक्रम अघि सारिएको हो।
यस कार्यक्रमबाट सहयोग प्राप्त गरेका किसानहरूले उत्पादन प्रणालीमा उल्लेखनीय सुधार आएको अनुभव गरिरहेका छन्। दुधको मात्रा बढ्नुका साथै पशुको स्वास्थ्य तथा स्याहारमा समेत सुधार देखिएको उनीहरूको प्रतिक्रिया छ। पहिले सरसफाइ, उपकरण र भण्डारणको अभावले दुग्ध व्यवसायमा समस्या हुन्थ्यो भने अब वातावरण सहज र प्रभावकारी बनेको उनीहरूको भनाइ छ।

नगरपालिकाले आगामी दिनमा थप किसानमुखी कार्यक्रम सञ्चालन गर्दै दुग्ध प्रशोधन इकाइ, पशु स्वास्थ्य सेवा, र बजार पहुँच अभिवृद्धि गर्ने योजनासमेत बनाएको छ। यस अभियानले बाणगंगा नगर क्षेत्रलाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
