गण्डक नहरबाट भारतले पानी नदिदा पर्सा, बारा र रौतहटमा धान रोपाइँ प्रभावित

0
Quantam abroad studies

असार २६ – भारतसँगको गण्डक सिँचाइ तथा जलविद्युत् योजनाअन्तर्गत सम्झौता भएको पानी नपाउँदा पर्सा, बारा र रौतहटका किसानहरू रोपाइँ गर्न नसक्ने अवस्थामा पुगेका छन्। असारे धानको बिउ तयार पारिसकेका किसान अब पर्याप्त पानी नपाउँदा खेत सुक्न थालेको गुनासो गर्छन्।

गण्डक नहरमार्फत नेपालका लागि भारतले दैनिक ८५० क्यूसेक पानी उपलब्ध गराउनु पर्ने भए पनि अहिले मात्र ५३५ क्यूसेक पानी दिइएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका प्रमुख मनोजकुमार पटेलले जानकारी दिए। “हामीले सम्झौताअनुसार पानी माग गर्दै भारतीय पक्षलाई पत्र पठाइसकेका छौँ,” प्रमुख पटेलले भने।

उनका अनुसार अहिले रोपाइँका लागि पर्सामा आइतबारदेखि मङ्गलबारसम्म, र बारा–रौतहटमा बुधबारदेखि शनिबारसम्म पानी दिने तालिका बनेको छ। तर, पर्साका केही किसानले पालो नपर्खी अरू जिल्लाको भागको पानी समेत आफ्नो खेतमा लगिरहेका छन्, जसका कारण अन्य क्षेत्रका कृषक थप मारमा परेका छन्।

सिँचाइको योजना, व्यवहारमा कमी

नेपाल–भारतबीच सन् १९५६ मा गण्डक सिँचाइ तथा जलविद्युत् योजना सम्झौता भएको हो। नारायणी नदीमा भारतले ब्यारेज निर्माण गरी नेपालको पर्सा, बारा र रौतहट जिल्लाको ३७ हजार ४०० हेक्टर भूमि सिँचाइ गर्ने लक्ष्य थियो। सन् १९७५ मा नेपाललाई हस्तान्तरण गरिएको गण्डक नहरमार्फत हालसम्म जम्मा २८ हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ हुन सकेको प्रमुख पटेलले बताए।

नहरको अवस्था

८१ किलोमिटर लामो मुख्य गण्डक नहर भारतको जानकीटोला हुँदै नेपाल प्रवेश गर्छ। यस नहरसँगै ९ वटा डिष्ट्रिव्युटरी र ८७ वटा सिँचाइ संरचनाहरू रहेका छन्। तर, संरचनाको मर्मत अभाव, भारतीय पक्षको पानी नछाड्ने प्रवृत्ति र व्यवस्थापन कमजोरीका कारण सिँचाइ विस्तार प्रभावित हुँदै आएको हो।

sahani furniture udyog

सम्झौता अनुसार वर्षायाममा असार १५ देखि र हिउँदमा पुस १० देखि पानी दिनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन। यतिबेला किसानहरू मौसम र सरकारी प्रतिबद्धताबीच अल्झिएको देखिन्छन्।

किसानको आक्रोश

पर्सा निवासी किसान रामकुमार यादव भन्छन्, “बिउ त छरिसकेका छौँ, पानी नपाउँदा खेत सुक्न थालेको छ। रोपाइँ गरौँ भने पानी छैन, कुर्न पनि सकिन्न।”

कृषिमा भर परेका यी तीन जिल्लाका किसानहरूका लागि सिँचाइको यस्ता समस्या वर्षेनी दोहोरिँदै आएका छन्। तर, सम्बन्धित निकाय र सरकार गम्भीर नहुँदा कृषकको श्रम र लगानी दुवै जोखिममा पर्न थालेको छ।

भारतले सम्झौताअनुसार गण्डक नहरमा पानी दिन ढिलाइ गर्दा नेपाली किसानको धान रोपाइँ प्रभावित भएको छ। संरचना राम्रो भए पनि व्यवस्थापन कमजोर हुँदा सिँचाइ योजनाको प्रभावकारिता खस्कँदै गएको छ। किसानहरूको भोलिभन्दा आजको माग – “हाम्रा खेतमा समयमै पानी पुग्नुपर्छ।”

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.