सामुदायिक गौशाला : छाडा पशु व्यवस्थापनदेखि आम्दानीसम्मको सफल यात्रा

0
Quantam abroad studies

धनगढी उपमहानगरपालिका–३, चटकपुरमा सञ्चालनमा रहेको सामुदायिक गौशालाले छाडा पशु व्यवस्थापनसँगै आर्थिक स्वावलम्बनतर्फ उल्लेखनीय पाइला चालेको छ। विसं २०७४ मा स्थापना भएको यो गौशालाले दूध, जैविक मल र धार्मिक कार्यमार्फत आम्दानी गर्दै आए पनि अझै पर्याप्त सरकारी सहयोगको प्रतीक्षामा रहेको छ।

हाल गौशालामा १४३ वटा साना–ठूला छाडा पशुचौपाया आश्रित छन्। तीमध्ये २७ वटा स्थानीय जातका दुधालु गाईले दैनिक ३२ लिटर दूध दिँदै आएका छन्। सुरुमा जम्मा ३ लिटर दूध बेचेर सुरु गरिएको बिक्री व्यवसाय अहिले ९० रुपैयाँ प्रतिलिटर दरमा महिनामा ८६ हजार रुपैयाँ आम्दानी पुर्‍याउने अवस्थामा पुगेको छ।

गौशालामा उत्पादन हुने अर्को मुख्य वस्तु हो– गड्यौला मल र गोठेमल। व्यवस्थापक रिता अवस्थीका अनुसार, यी जैविक मलहरूले मासिक करिब ३० हजार रुपैयाँ आम्दानी थप्ने गरेका छन्। साथै, गौदान, श्राद्ध, पूजाआजा जस्ता धार्मिक कार्यक्रमबाट समेत आर्थिक सहयोग प्राप्त हुँदै आएको छ।

पाँच जना कर्मचारीले गौशालाका गाईहरूको हेरचाह गरिरहेका छन्, जसको मासिक तलब खर्च ७५ हजार रुपैयाँ रहेको छ। यति मात्र होइन, भुसा, पराल, नवीन दाना, चोख्खर आदि पशु आहारमा पनि उल्लेख्य खर्च हुने गरेको छ। तर, पोषणयुक्त आहारा पर्याप्त नहुँदा दूध उत्पादन क्षमताभन्दा कम भइरहेको व्यवस्थापन समूहको गुनासो छ।

sahani furniture udyog

“हामीले क्षमता अनुसार उत्पादन गर्दैछौं, तर अझै राम्रो व्यवस्थापन, गुणस्तरीय आहारा र आवश्यक सुविधा पायौं भने आम्दानी थप वृद्धि गर्न सकिन्छ,” व्यवस्थापक अवस्थी भन्छिन्, “तर सरकारी सहयोगको अभावले हामीलाई पछाडि धकेलेको छ।”

समस्या भनेको सहयोगको निरन्तरता हो। धनगढी उपमहानगरपालिका, भटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रबाट कहिलेकाहीँ सहयोग भए पनि स्थायी र पर्याप्त सहयोग नहुँदा समुदायको भरमा टिकिरहेको छ गौशाला।

धनगढीको यो सामुदायिक गौशाला नाफा कमाउने संस्था मात्र नभई छाडा पशुको व्यवस्थापन, जैविक उत्पादन प्रवर्द्धन र धार्मिक परम्पराको संरक्षण गर्ने नमूना केन्द्र हो। यस्ता प्रयासलाई दीगो बनाइराख्न सरकार, संस्थागत निकाय तथा समाजको संयुक्त सहयोग अनिवार्य देखिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.