
कपिलवस्तु
कपिलवस्तु जिल्लामा कक्षा १० (एसईई) मा ४.० जिपिए हासिल गर्ने १६ जना विद्यार्थीका अनुहारमा शुक्रबार एउटा अलगै चमक देखिन्थ्यो। त्यो चमक थियो – सम्मानको, आत्मगौरवको र प्रेरणाको। दीप कुमार उपाध्याय च्यारिटेबल इनिसिएटिभको आयोजनामा आयोजित एक विशेष समारोहमा ती सबै छात्र–छात्रालाई ट्याब र सम्मान–प्रमाणपत्र प्रदान गरिएको हो।
“ज्ञान अब केवल किताबी भर छैन, प्रविधिको सहाराले अझ फराकिलो बनाउनु पर्छ,”
भन्दै संस्थाका महासचिव आशिष शर्माले प्रत्येक विद्यार्थीलाई ट्याब हस्तान्तरण गर्दा त्यो केवल ग्याजेट हैन, भविष्य निर्माणको एउटा औजार भएको संकेत गरे।
उनको भनाइमा, “हामी चाहन्छौं यी विद्यार्थीहरू प्रविधिसँगै हिँडून्, प्रतिस्पर्धी बनून् र आधुनिक शिक्षाको फाइदा लिऊन्। ट्याब त्यसैको पहिलो पाइला हो।”
कार्यक्रमका प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी संस्थाकी अध्यक्ष मिथिला शर्मा उपाध्यायले विद्यार्थीहरूलाई बधाई दिँदै भनिन्,
“सिर्फ अंक ल्याउनु मात्र सफलता होइन। ज्ञान, सीप र चरित्रको सम्मिश्रणबाट मात्र असली सफलता प्राप्त हुन्छ।”
उनको प्रेरणादायी सम्बोधनले समारोहमा उर्जा थपेको थियो।

कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, पिपरा जनता माविका प्रअ रमेश पन्थी, ज्ञानपुञ्ज बोर्डिङ स्कुलका प्रअ सुरेन्द्र पाण्डे, र बाणगंगा मावि लौगाईका प्रअ कुलराज पौडेललगायत वक्ताहरूले बाणगंगालाई अब प्रदेशस्तरीय शैक्षिक केन्द्रका रूपमा विकास गर्ने स्पष्ट संकेत दिएका थिए।
सभाहलमा विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी र स्थानीय जनप्रतिनिधिको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमको सञ्चालन पत्रकार अशोक पौडेलले गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास र जिम्मेवारीको भावना थपेको महसुस सबैले गरे। एउटा ट्याबले सायद ठूलो परिवर्तन ल्याउन सक्दैन, तर सही समयमा दिइएको एउटा प्रोत्साहनले भविष्य नै बदल्न सक्छ।
