मनसुन प्रवेशकाे डेढ महिनामा नेपालभर सरदरभन्दा कम वर्षा

0
Quantam abroad studies

काठमाण्डौ, असार २
यस वर्ष मनसुन समयभन्दा अगाडि प्रवेश गरे पनि झन्डै डेढ महिनाको अवधिमा नेपालभर सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

जेठ १५ (मे २९) मा मनसुन नेपाल भित्रिएसँगै केही दिन सामान्य वर्षा भए पनि असारको दोस्रो साता पार भएसँगै वर्षा एकाएक घट्न थालेको देखिएको छ। विशेषगरी जुलाईको पहिलो १० दिनमा वर्षा दरमा उल्लेख्य गिरावट आएको छ।

विभागका अनुसार, नेपालमा मनसुन अवधिभर (जेठ १५ देखि असोज १५ सम्म) सरदर रूपमा १,४७९ मिलिमिटर वर्षा हुने गर्दछ। तर, हालसम्म जम्मा ३९१ मिलिमिटर मात्र वर्षा भएको छ – जुन सरदरको मात्र २७ प्रतिशत हो। गत वर्ष सोही अवधिमा ४६० मिलिमिटरभन्दा बढी वर्षा भइसकेको थियो।

विभागका प्रवक्ता तथा मौसमविद् विभूति पोखरेल भन्छन्, “असोजसम्म मनसुन अवधि रहन्छ, त्यसैले अहिले नै निष्कर्ष निकाल्न सकिन्न, तर हालसम्मको तथ्यांक हेर्दा वर्षा दर चिन्ताजनक रूपमा कम छ।”

मधेस प्रदेश सुख्खाग्रस्त, रोपाइँ संकटमा

sahani furniture udyog

वर्षाको कमीले सबैभन्दा बढी प्रभाव मधेस प्रदेशमा परेको छ। वर्षा नपरेकाले धानको ब्याड सुक्न थालेको र रोपाइँ सुरु गर्न नसकिएको किसानको गुनासो छ।
प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

धान उत्पादनको मुख्य क्षेत्र मानिने मधेसमा असार अन्त्य आउँदै गर्दा मात्र ३३ प्रतिशत धान रोपाइँ भएको छ। जबकि, यस समयसम्म ७०–८० प्रतिशत रोपाइँ सकिनु सामान्य हो। कृषि विकास निर्देशनालय, मधेसका अनुसार प्रदेशभर करिब ३ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ, तर हालसम्म मात्र १ लाख २६ हजार हेक्टर क्षेत्रमा रोपाइँ भएको छ।

यदि आगामी तीन/चार दिनभित्र पर्याप्त पानी परेन भने रोपाइँ नै अधूरो रहने र सो को प्रत्यक्ष असर धानको उत्पादनमा पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्। यसले खाद्य सुरक्षामा समेत चुनौती उत्पन्न गराउन सक्छ।

गम्भीर संकटको आकलन गर्दै मधेस प्रदेश सरकारले संघीय सरकारसँग विशेष राहत प्याकेजको माग गरिसकेको छ। समयमै हस्तक्षेप नभएमा हजारौं किसानको मेहनत खेर जाने र खाद्यान्न संकट गहिरिने देखिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.