
बारा — बारा जिल्लाको सिमरा क्षेत्रबाट प्रहरीले भन्सार छली गरिएको आशंकामा ५२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले वीरगन्जबाट नारायणगढतर्फ गइरहेको ट्रक जाँच गर्दा ठूलो परिमाणमा भन्सार नतिरी ल्याइएको सामान फेला परेको हो।
ना ४ ख ५६७२ नम्बरको उक्त ट्रकलाई सिमरा चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर जाँच गर्दा ट्रकमा लोड गरिएका सामग्री र त्यससँग पेश गरिएका बिल, बिजक तथा ढुवानी विवरणबीच स्पष्ट असमानता देखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ट्रकबाट करिब ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। बरामद सामाग्रीमा विभिन्न किसिमका कपडा, साइकलका पार्टपुर्जा, केमिकल, औषधि तथा अन्य खुद्रा सामग्रीहरू रहेका छन्।
इलाका प्रहरी कार्यालय सिमराका एक अधिकृतले भने, “सामग्री र कागजातमा मिलान नहुँदा हामीले ट्रकलाई नियन्त्रणमा लिएका हौं। प्रारम्भिक अनुसन्धानमा यो भन्सार छलीको घटना देखिएको छ, र थप अनुसन्धान भइरहेको छ।”

हाल ट्रक र त्यसमा लोड गरिएका सबै सामग्री प्रहरीको नियन्त्रणमा छन्। यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
यो घटनाले सीमावर्ती क्षेत्रमा भन्सार छल्ने प्रवृत्ति अझै सक्रिय रहेको र त्यसविरुद्ध निरन्तर निगरानी आवश्यक रहेको सन्देश दिएको छ।
