
काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी अक्सन आगामी साउन २४ गते हुने घोषणा गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै क्यानले अक्सनको मिति औपचारिक रूपमा सार्वजनिक गरेको हो।
क्यानका अनुसार असार २८ गतेदेखि साउन ६ गतेसम्म खुला गरिएको खेलाडी दर्ता प्रक्रियामा कुल ४५८ खेलाडीले नाम दर्ता गराएका छन्। दर्ता भएका खेलाडीहरूको विवरण एनपिएलमा सहभागी सबै ८ वटा फ्रेन्चाइज टोलीहरूलाई पठाइसकिएको संघले जनाएको छ।
अब फ्रेन्चाइज टोलीहरूले खेलाडी छनोट गर्दा इच्छाअनुसार तथा क्यानको प्राविधिक समिति द्वारा तय गरिएका मापदण्डअनुसार अगाडि बढ्नुपर्नेछ। अक्सनमा सहभागी हुने अन्तिम खेलाडी सूची केही दिनभित्र सार्वजनिक गरिने क्यानले स्पष्ट पारेको छ।

यसपटकको एनपिएल नोभेम्बर–डिसेम्बर महिनामा आयोजना गरिनेछ। पहिलो संस्करणमा पाएको सफलतापछि दोस्रो संस्करणप्रति क्रिकेटप्रेमीहरूको उत्साह उच्च रहेको छ।
क्यानको व्यवस्थापन, फ्रेन्चाइजहरूको तयारी र खेलाडीको सहभागिताबाट यस संस्करणको एनपिएल थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।
