
कपिलवस्तु — शिवराज नगरपालिका वडा नम्बर १, उमरीमा आइतबार राति बस र अटो एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ग१ख ९०१३ नम्बरको बसले लु१ह ४१५४ नम्बरको अटोलाई साढे आठ बजे पश्चिमबाट पूर्व जाँदै गर्दा ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उमरीका ५० वर्षीय रितबहादुर सुनार र वडा नम्बर ३, बलुवाकी १८ वर्षीया रविना रानाको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले पुष्टि गरे।

दुर्घटनामा घाइते भएका उमरीकै पवित्रा सुनार र प्युठान स्थायी घर भई बलुवामा बसोबास गर्दै आएका १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस र अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
