
कपिलवस्तु — साउन ६ गतेको मध्यरात। सबै निदाएका थिए, तर एक जना भने आफ्नो योजना अनुसार चुपचाप अघि बढ्दै थिए। शिवराज नगरपालिका–५, प्रगति टोलस्थित दीपक न्यौपानेको घरमा त्यो रात करिब २५ लाख रुपैयाँ बराबरको सुनचाँदी र नगद गायब भयो।
घटना रिपोर्ट हुनासाथ प्रहरी टोली तत्काल सक्रिय भयो। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले सुराकी र शंकास्पद गतिविधि ट्र्याक गर्न थालेको थियो। अन्ततः साउन ९ गते बिहान, शिवराज–१, बनकट्टा क्षेत्रको भित्री सडकमा घुमफिर गरिरहेको एक व्यक्तिलाई प्रहरीले रोकेको थियो।
३२ वर्षीय टोपेन्द्र सिंह ठकुरी, स्थायी घर दाङको लमही नगरपालिका–४ अर्नवा। प्रारम्भिक सोधपुछमै उनी नझुठ्याई टिक्न सकेनन्। केही क्षणमै उनले चोरेको गहना आफनै घरमा लुकाएको स्वीकारे।

प्रहरी टोलीले दाङस्थित ठकुरीको घरमा पुगेर खानतलासी गर्दा चोरी गरिएका सुनका गरगहना फेला पारे — रानीहार, सिक्री, झुम्का, ब्रासलेट, टप, हार र मुन्द्रा। सबैजना चकित — तीन दिनमै प्रहरीले त्यो मूल्यवान सामग्रीसहित अभियुक्त समातेको थियो।
ठकुरीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ८ दिनको म्याद थपिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार, थप संलग्नता र सहयोगीहरूको खोजी भइरहेको छ।
शिवराजमा केही दिनअघि घटेको यो चोरी काण्डले सहरमा सुरक्षा सचेतनाको विषयलाई पुनः उजागर गरिदिएको छ।
