देशभर फेरि सक्रिय भयो मनसुन, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

0
Quantam abroad studies

कपिलवस्तु, साउन १२ — केही दिनदेखि सुस्त देखिएको मनसुनी गतिविधि फेरि सक्रिय बन्दै गएको छ। गएरातिदेखि देशभर व्यापक रूपमा वर्षा सुरु भएको छ भने आज दिनभर पनि झरीको क्रम जारी रहने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मनसुनी वायुले फेरि सक्रियता देखाएको हो। विशेषगरी गण्डकी, बागमती, कोशी र लुम्बिनी प्रदेशका पहाडी भेगहरूमा मनसुनको प्रभाव तीव्र देखिएको छ।

शनिबार रातिदेखि काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, लमजुङ, कास्की, पर्वत, गोरखा, पाल्पा, स्याङ्जा, मुगु, इलाम र धनकुटा लगायतका जिल्लामा मध्यम खालको वर्षा भएको छ। मधेश प्रदेशको सप्तरी लगायतका केही स्थानमा पनि हल्का पानी परेको जानकारी छ।

आज दिउँसो तथा राति मौसम अझै अस्थिर रहने संकेत महाशाखाले दिएको छ। विशेषगरी गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको जनाइएको छ। यसैगरी, तराई भू–भागका केही स्थानहरूमा पनि आंशिक वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले दिएको विवरण अनुसार कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू — जस्तै ओखलढुंगा, रामेछाप, लमजुङ, पर्वत, स्याङ्जा र गुल्मी — मा एक/दुई स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना छ।

sahani furniture udyog

वर्षासँगै पहिरोको जोखिम पनि बढ्ने भएकाले महाशाखाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रामा निस्कनु पर्नेहरूलाई आवश्यक सुरक्षाको पूर्वतयारीका साथ हिँड्न सल्लाह दिइएको छ।

त्यसैगरी, कृषक वर्गलाई पनि खेतबारीमा काम गर्दा मौसमको स्थितिबारे अपडेट रहन र सुरक्षा उपाय अपनाउन महाशाखाले सचेत गराएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभरका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन पुनः एकपटक आग्रह गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.