
कपिलवस्तु |
कपिलवस्तु जिल्लाका केही स्थानीय तहहरूले नागपञ्चमी पर्वको अवसरमा साउन १३ गते (२०८२/०४/१३) मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
महाराजगंज नगरपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिका, बाणगंगा नगरपालिका र सुद्धोधन गाउँपालिकाले आ-आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै सरकारी तथा शैक्षिक कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
नागपञ्चमी हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक र सांस्कृतिक महत्त्व बोकेको पर्व हो। नागदेवताको पूजा अर्चना, सम्पत्ति र घर परिवारको सुरक्षा कामनाका साथ गरिने यो पर्व नेपालको विशेष सांस्कृतिक सम्पदामध्ये पर्छ।
यस अवसरमा विशेषगरी पहाडी र मधेशी समुदायहरूले नागको प्रतीक बनाइ पूजाआजा गर्ने, दुध, अक्षता, दुबो आदि चढाउने परम्परा रहिआएको छ। नाग–नागिनीको पूजाका साथै सर्पदंशबाट सुरक्षाको कामना गर्दै यो पर्व श्रद्धापूर्वक मनाइन्छ।

नगर/गाउँपालिकाहरूले जनताको धार्मिक भावना र सांस्कृतिक अभ्यासलाई सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। यो निर्णयसँगै सम्बन्धित सबै कार्यालय, विद्यालय र संस्थाहरू बन्द हुनेछन्।
नगरबासी र विद्यार्थीहरूका लागि यस किसिमको निर्णयले पर्वप्रति सम्मान मात्र होइन, संस्कृति जगेर्नामा स्थानीय तहहरूको सक्रिय भूमिका पुष्टि गरेको छ।


