
आज मधेश प्रदेशसहित देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा वर्षा हुने देखिएको छ । त्यस्तै लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै क्षेत्र र मधेश प्रदेशसहित बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

यसैगरी, राति पनि मधेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मौसमका कारण दैनिक क्रियाकलापमा सावधानी अपनाउन र चट्याङको जोखिम न्यूनीकरणका लागि सतर्क रहन आग्रह गरेको छ ।
