
मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा एक महिलाको आफ्नै श्रीमान्को हातबाट ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तिले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिचेर हत्या गरेका हुन्।
घटना भएको करिब दुई घण्टापछि, बिहान ८ः३० बजे, मानबहादुर स्वयं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई आत्मसमर्पण गरेका थिए। प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

प्रारम्भिक बयानअनुसार दुर्गालक्ष्मी लामो समयदेखि प्यारालाइसिसको रोगले पीडित थिइन् र हिँड्डुल गर्न असमर्थ थिइन्। यसै अवस्थाले मानसिक तनाव बढेपछि आफूले यस्तो कदम चालेको मानबहादुरले प्रहरीलाई बताएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
