
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन्।
उनी कैलालीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर मंगलबार दिउँसो २ बजे अनसन तोडे।
गत आइतबारदेखि सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। मंगलबार बिहान उनको मुटुको चालमा गडबडी देखिएको सहयोगी डा. अमृत जैसीले जानकारी दिएका थिए।
किन सुरु गरेका थिए अनसन?
डा. केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णयको विरोध गर्दै आइतबार दिउँसोदेखि तीन दिने सत्याग्रह सुरु गरेका थिए।
साउन ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस सिट १३० पुर्याउने निर्णय गरेको थियो।

उनको तर्कमा आवश्यक मापदण्ड नै नपुगेका कलेजलाई जथाभावी सिट तोक्दा गुणस्तर खस्किने र स्वास्थ्य सेवा नै प्रभावित हुने जोखिम बढ्छ।
डा. केसीका प्रमुख माग
- निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्ने।
- इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने।
- कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्ने।
- अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधान तत्काल कार्यान्वयन गर्ने।
डा. केसीले यसअघि पनि चिकित्सा शिक्षा सुधारका लागि पटक–पटक अनसन गर्दै आएका छन्।
