
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किनुभएको छ। उहाँ भदौ १४ गते राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको तियान्जिनमा आयोजना भएको शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिनुका साथै विशेष सत्रलाई सम्बोधन पनि गर्नुभयो। नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार रहँदै आएको छ।
यसैगरी, प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजना गरिएको दोस्रो विश्वयुद्धको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक परेडमा पनि सहभागिता जनाउनुभयो। सो अवसरमा उहाँले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्वका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। भेटवार्तामा आपसी हितका विषय, क्षेत्रीय सहयोग र अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री ओलीसँग उहाँकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, एमाले सांसद छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा लगायत उच्चस्तरीय अधिकारीहरू सहभागी रहनुभएको थियो।
बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चिनियाँ उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चीनका राजदूतले बिदाइ गरेका थिए।
