
काठमाडौं । अबदेखि ई–७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन् ।
वैदेशिक रोजगार विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ‘गणतन्त्र कोरिया जाने सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८०’ कार्यान्वयन नहुने स्पष्ट गरेको हो । विभागका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि तत्काल लागू नगर्न निर्देशन आएको छ ।
यसअघि सो कार्यविधि कार्यान्वयन भएपछि ई–७ भिसा श्रेणीमार्फत दक्ष र सीपयुक्त नेपाली कामदारलाई कोरिया पठाउने तयारी गरिएको थियो । तर मन्त्रालयकै निर्देशनले गर्दा हालका लागि उक्त प्रक्रिया रोकिएको छ ।

हाल नेपाली कामदार कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत मात्र जाने व्यवस्था छ । ईपीएस अन्तर्गत भाषा, स्वास्थ्य परीक्षण र अन्य आवश्यक प्रक्रिया पूरा गर्ने श्रमिकलाई कोरियाली श्रम बजारमा अवसर उपलब्ध गराइँदै आएको छ ।
दक्ष कामदार पठाउने नयाँ ढोका खोल्ने भनिएको ई–७ भिसा प्रक्रिया रोकिएपछि सीपयुक्त कामदारको लागि कोरिया जाने सम्भावना तत्कालका लागि बन्द भएको विभागले स्पष्ट पारेको छ । यसले कोरियामा रोजगारी खोज्ने सीपयुक्त नेपाली युवालाई निराशा हुने देखिन्छ ।
