
भारतको हिमाञ्चल प्रदेशस्थित सिमलामा भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाईम्स का अनुसार मंगलबार राति भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप एक जनाले ज्यान गुमाएका हुन् ।
मृतकहरूमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । सोही दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।
समाचारका अनुसार चालकले पिकअप जिपको नियन्त्रण गुमाएपछि सवारी भीरमा खस्दा दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्थानीय प्रशासनले घटनाबारे अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
