
काठमाडौँ । नेकपा एमालेले आउँदो असोज ३ गतेको संविधान दिवसलाई शक्ति प्रदर्शनको अवसरका रूपमा मनाउने तयारी गरेको छ । जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको एमालेले यस अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक कार्यक्रममार्फत मैदानमा उतार्ने योजना बनाएको छ ।
स्थायी कमिटी सदस्य महेश बस्नेतले मंगलबार च्यासलस्थित जलेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेले संविधान दिवस धूमधामका साथ मनाउने घोषणा गरे । उनका अनुसार ओलीसहित शीर्ष नेताहरू कार्यक्रममा उपस्थित हुनेछन् ।

बस्नेतले अन्य राजनीतिक दलहरूलाई पनि कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिने जानकारी दिए । उनका अनुसार कांग्रेस, माओवादी लगायतका दल आएमा कार्यक्रम स्थल परिवर्तन हुन सक्नेछ ।
संविधान दिवसलाई राजनीतिक उपस्थिति र जनसंपर्क विस्तारको अवसरका रूपमा एमालेले उपयोग गर्ने तयारी गरेको देखिन्छ ।
