
संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट र कामदार भिसा एकैपटक बन्द गरेपछि हजारौँ नेपाली अन्यौलमा परेका छन्। सोमबारदेखि भिजिट भिसा र मंगलबारदेखि कामदार भिसा रोकिएको हो।
नेपालमा हालै भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र कैदीबन्दी फरारजस्ता घटनासँग यसलाई जोडेर हेरिएको भए पनि आधिकारिक रूपमा यसबारे कुनै पुष्टि भएको छैन। अबुधाबीस्थित नेपाली दूतावासले पनि अहिलेसम्म आधिकारिक जानकारी पाउन नसकेको स्पष्ट पारेको छ।
म्यानपावर व्यवसायीहरूको भनाइ अनुसार, कम्पनीहरूले कामदार भिसा प्रक्रियाका लागि निवेदन दिए पनि अन्तिम चरणमा आवेदन अस्वीकृत भएको छ। सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत भिजिट भिसा निकाल्दै आएका थिए, तर अहिले त्यो सुविधा पनि बन्द गरिएको छ।

यूएईले यसअघि इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकका लागि भिसा रोक लगाएको थियो। हाल नेपाल पनि सो सूचीमा थपिएको छ।
भिसा रोकका कारण रोजगारीका लागि तयारी गरिरहेका युवाहरू मात्र नभई म्यानपावर कम्पनी र व्यवसायीहरू पनि प्रभावित भएका छन्। यसले यसै महिनाको अन्त्यतिर सारजाहमा हुन लागेको नेपाल–वेस्ट इन्डिज क्रिकेट खेलमा समेत असर पार्ने देखिएको छ। खेलाडीहरूलाई विशेष व्यवस्थाबाट भिसा दिलाउने सम्भावना भए पनि स्पोन्सर, व्यवसायी र दर्शकहरूलाई समस्या हुने अनुमान गरिएको छ।
यूएईको अध्यागमनले नेपाली नागरिकतर्फका सबै भिसा आवेदन हाल रोकेको पुष्टि गरेको छ। यो निर्णय अस्थायी हो वा दीर्घकालीन भन्नेबारे भने अझै स्पष्ट भएको छैन।
