
काठमाडौं — दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक तथा भन्सार सञ्चालन गर्ने निर्णय भएको छ। अर्थ मन्त्रालयमा मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले यस्तो व्यवस्था लागू हुने जानकारी गराए।
उनले पहिरोका कारण अवरुद्ध तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारले प्रयास गरिरहेको पनि बताए।
छलफलमा अर्थमन्त्री रामेश्वर खनालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रतिनिधिहरूसँग व्यवसायिक चासोबारे छलफल गरेका थिए।

उद्योगी–व्यवसायीहरूले कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बीमा रकम चाँडै भुक्तानी गर्न सरकारसँग माग गरेका थिए।
अर्थमन्त्री खनालले सरकार एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने तयारीमा रहेको जानकारी दिंदै कर नीति तथा मौद्रिक नीतिबाट उपलब्ध गराउन सकिने सहुलियतप्रति सरकार सकारात्मक रहेको स्पष्ट पारे।

