
काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले आगामी संविधान दिवस (असोज ३) मा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।
शिवजी यादवको अध्यक्षतामा बसेको मोर्चाको केन्द्रीय सचिवालय बैठकले २०७२ सालमा जबरजस्ती संविधान जारी भएको दाबी गर्दै त्यस दिनलाई यस वर्ष पनि ‘कालो दिन’का रूपमा मनाउने निर्णय गरेको हो ।
बैठकले हालैको जेनजी आन्दोलनलाई समर्थन गर्ने निर्णय गर्दै, त्यसको भावनाअनुरूप विविधता, समानुपातिक समावेशी प्रतिनिधित्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने माग राखेको छ । मोर्चाले जनताको अधिकार कमजोर पार्ने कुनै षड्यन्त्र स्वीकार नगर्ने चेतावनी पनि दिएको छ ।

यस्तै, भदौ २३ र २४ गतेको आन्दोलनमा अराजक तत्त्व घुसपैठ गरी राष्ट्रपति भवन, संसद, न्यायपालिका, कार्यपालिका, दलका कार्यालय र व्यवसायीको निजी सम्पत्तिसम्म तोडफोड तथा आगजनी गरेको घटनाप्रति मोर्चाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
बैठकले ती घटनामा संलग्नलाई कडा कारबाही गर्न, क्षतिग्रस्त संरचना र सम्पत्तिको यथोचित छानबिनसहित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

