
काठमाडौं । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिजिट र वर्किङ भिसा रोकेपछि कतार र मलेसियाले पनि उस्तै कदम चाल्ने तयारी गरेको संकेत परराष्ट्र मन्त्रालयका स्रोतले दिएका छन्।
गत सातादेखि यूएईले नेपालीलाई भिसा रोक्दै आएको र कतार–मलेसियाले पनि तयारी गरिरहेको जानकारी स्रोतले दिएको छ। दक्षिण कोरियाले समेत नेपाली कामदारका लागि ई–७ भिसा नवीकरण नगर्ने निर्णय गरिसकेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, भिसा कडाइको मुख्य कारण जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र प्रदर्शनमा देखिएको हिंसात्मक प्रवृत्तिप्रति विदेशी राष्ट्रको चिन्ता हो। भदौ २३–२४ मा भएको प्रदर्शनमा करिब १५ हजार कैदीबन्दी भागेका थिए, जसमा अझै करिब ९ हजार पक्राउ वा फर्कन बाँकी छन्।

यूएई, कतार र मलेसिया नेपाली वैदेशिक रोजगारीका प्रमुख गन्तव्य हुन्। गत आर्थिक वर्षमा मात्रै ४ लाख ६४ हजारभन्दा बढी नेपाली यी तीन देशमा काम गर्न पुगेका थिए। लामो समय भिसा रोकिएमा रेमिट्यान्समा ठूलो गिरावट आउने अनुमान छ।
सरकारले भागेका कैदीबन्दी फिर्ता गरी विदेशी राष्ट्रलाई आश्वस्त पार्ने प्रयास सुरु गरेको र त्यसपछि भिसा कडाइ क्रमशः खुकुलो हुने विश्वास व्यक्त गरिएको छ।
