
कपिलवस्तु — जाडो मौसममा बालबालिकाको स्वास्थ्य र सुरक्षा लक्षित गर्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सात विद्यालयअन्तर्गतका नौ बाल विकास केन्द्रका ३०३ बालबालिकालाई जुत्ता र मोजा वितरण गरिएको छ।
यस अभियानलाई अमेरिकाको टेक्सासमा बस्दै आएका स्थानीय युवादाता विनोद केवटले आफ्नै पहल र खर्चमा संचालन गरेका हुन्।
तीन सयभन्दा बढी बालबालिकालाई जुत्ता–मोजा वितरण गर्ने अभियान दुई चरणमा सम्पन्न भएको हो। बुद्धभूमि नगरपालिका–१० अन्तर्गतका छ विद्यालय र वडा नम्बर ५ राजपुरीस्थित एक विद्यालयका बाल विकास केन्द्रका बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको शिक्षक तथा स्थानीय दयाशंकर केवटले बताए, जसको समन्वयसमेत यिनीले गरेका थिए।
विद्यालयका बालबालिकाले प्रत्यक्ष लाभ पाए, तीमध्ये राष्ट्रिय माध्यमिक विद्यालय चेत्रादेइ र सरस्वती विद्यालय लोहोरौला प्रमुख हुन्। कठ्यांग्रिनेजस्तो चिसोमा नाङ्गो खुट्टा विद्यालय आउने बालबालिकालाई सहज अध्ययन वातावरण मिलोस भन्ने उद्देश्यले वितरण गरिएको स्थानीय शिक्षकहरूले जनाए।

विनोद केवटको विदेश यात्रासमेत निकै रोचक छ। कपिलवस्तु जन्मथलोका उनी कक्षा ७ सम्म अध्ययनपछि रोजगारीका लागि कतार पुगेका थिए। कतारमा नै रहेको कम्पनीका मालिकले अवसर उपलब्ध गराएर उनले अमेरिका जाने बाटो पाएका थिए। हाल उनी अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका छन् र ग्रीन कार्डसमेत प्राप्त गरिसकेका छन्।
अमेरिकामा स्थापित भए पनि गाउँप्रति माया र जिम्मेवारी कहिल्यै नहराएको विनोदले भावुक हुँदै भने,
“अमेरिकामा छु, तर मन भने गाउँमै छ। बालबालिकाको सहायतामा मेरो सहयोग निरन्तर जारी रहन्छ।”
स्थानीयवासीले विदेशमा बसेर पनि गाउँका साना बालबालिकाप्रति देखाएको दानशीलता र समाजप्रतिको उत्तरदायित्वको खुलेर प्रशंसा गरेका छन्।
चिसो बढ्दै गएको यस मौसममा जुत्ता–मोजा वितरणले बालबालिकालाई सुरक्षित रहन सहयोग पुर्याउने विश्वास अभिभावकहरूले व्यक्त गरेका छन्।
