
सरकार र जेनजी प्रतिनिधिबीच आज (बुधबार) ६ बजे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सगरमाथा हलमा तय गरिएको कार्यक्रममा जेनजीका प्रतिनिधि, आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू तथा मृतकका परिवारजन सहभागी हुनेछन्। प्रधानमन्त्री सुशीला कार्कीकी प्रेस सल्लाहकार राम रावलले यसबारे जानकारी दिएका हुन्।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले उक्त आन्दोलनलाई औपचारिक मान्यता दिने तयारी गर्दै आएको थियो। आन्दोलनका घटनाक्रम तथा उजुरीहरूलाई लिखित रूपमा दस्तावेजीकरण गरी सरकारले औपचारिक रूपमा स्वीकार गर्नुपर्ने माग जेनजी पक्षले निरन्तर राख्दै आएको थियो।
अन्तरिम सरकार गठन भएको तीन महिना पुग्न लाग्दा दुवै पक्षबीच सहमति जुटेपछि आज सम्झौता हस्ताक्षर गर्न लागिएको हो। सरकारले तयार गरेको सम्झौता पत्रमा जेनजी आन्दोलनले उठाएका मुख्य मागहरू समेटिएको बताइएको छ।

सम्झौता हस्ताक्षरपछि आन्दोलनसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति तथा सत्य–निरूपणसम्बन्धी प्रक्रियाहरूलाई अघि बढाउने अपेक्षा गरिएको छ।
