
पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको युवा आन्दोलनका प्रमुख नेता शरीफ उस्मान हादीको निधनपछि बंगलादेशमा तनाव र हिंसा चर्किएको छ। ढाकाको एक मस्जिदबाट बाहिर निस्कँदै गर्दा मुखौटा लगाएका आक्रमणकारीको गोलीबाट घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको हो।
गोलीकाण्ड २०२४ को जनआन्दोलनपछिको पहिलो निर्वाचन मिति घोषणा भएको भोलिपल्ट भएको थियो। ३२ वर्षीय हादी स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने तयारीमा थिए।
हादीको मृत्युको खबर सार्वजनिक भएपछि ढाकामा उनका सयौं समर्थकहरू प्रदर्शनमा उत्रिए। प्रदर्शनकारीहरूले ‘द डेली स्टार’ र ‘प्रथम आलो’का कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि सेना परिचालन गरियो। दमकलकर्मीले भवनभित्र फसेका पत्रकारहरूको उद्धार गरेका थिए।

विद्यार्थी आन्दोलन समूह ‘इन्किलाब मञ्च’का वरिष्ठ नेता हादी भारतका खुला आलोचक थिए। उनको मृत्युपछि विभिन्न राजनीतिक दलहरूले दोषीलाई कारबाही गर्न अन्तरिम सरकारसँग माग गरेका छन्।
अन्तरिम सरकारका प्रमुख तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्युलाई “देशका लागि अपूरणीय क्षति” भन्दै शनिबार राष्ट्रिय शोक दिवस घोषणा गरेका छन्। उनले हिंसाबाट लोकतान्त्रिक प्रक्रिया रोक्न नसकिने चेतावनी दिएका छन्।
घटनाको अनुसन्धान जारी छ भने केही संदिग्धहरू नियन्त्रणमा लिइएका छन्। गत वर्ष विद्यार्थी आन्दोलनपछि शेख हसिनाको १५ वर्ष लामो सत्ता अन्त्य भएको थियो, जसक्रममा १,४०० जनाको ज्यान गएको थियो।
