
काठमाडौं।
सुनचाँदी बजारमा आज फेरि नयाँ इतिहास बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले उक्लँदै तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा पुगेको छ । यससँगै सुनको भाउले लगातार दोस्रो दिन कीर्तिमान कायम गरेको हो ।
यसअघि शुक्रबार सुनको मूल्य तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मानिएको थियो । तर आजको वृद्धिले उक्त रेकर्डसमेत तोडेको छ ।

यस्तै, चाँदीको मूल्य पनि ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आज चाँदी तोलामा २ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार मात्रै चाँदीको भाउ तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ पुगेर कीर्तिमान बनेको थियो ।
सुनचाँदीको मूल्यमा लगातार भइरहेको वृद्धिले बजारमा चासो बढाएको छ भने आम उपभोक्तालाई गहना खरिदमा थप आर्थिक भार परेको देखिन्छ । मूल्य अझै घट्ने वा बढ्ने भन्ने विषयमा बजार सहभागीहरू सतर्क बनेका छन् ।
