
बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका दलित विपन्न समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै एमबिबिएसमा नाम निकाल्न सफल भएपछि उहाँको पढाइका लागि सहयोगको लहर चलेको छ। दाङको घोरही मेडिकल कलेजमा भर्ना भएका साफीलाई होस्टेल, पाठ्यपुस्तक र शैक्षिक सामग्रीका लागि आर्थिक सहयोग जुट्न थालेको हो।
सामाजिक सञ्जाल र मिडियामार्फत् उहाँको संघर्ष सार्वजनिक भएपछि सहयोग थपिएको छ। गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले पाँच वर्षको अध्ययन खर्च गाउँपालिकाबाट जुटाउने विश्वास दिलाउनुभएको छ भने ग्रिन एन्ड क्लिन फाउन्डेसनले एक लाख रुपैयाँ नगद सहयोग गरेको छ।

दिनभर मजदुरी र रातभर अध्ययन गरेर सफलता हासिल गरेका साफीलाई विपन्न समुदायका लागि प्रेरणाका रूपमा हेरिएको छ। उहाँले सहयोगकर्ताप्रति आभार व्यक्त गर्दै दक्ष डाक्टर बनेर समाज र देशको सेवा गर्ने सपना सुनाउनुभएको छ।
