
इरानमा बढ्दो महँगी र राष्ट्रिय मुद्रा रिआलको तीव्र अवमूल्यनविरुद्ध चर्किएको विरोध प्रदर्शन राजधानी तेहरानबाट अन्य शहरहरूमा फैलिएको छ । रिआल अमेरिकी डलरको तुलनामा ऐतिहासिक न्यूनतम तहमा झरेपछि व्यापारीहरूले तेहरानको ग्र्यान्ड बजार बन्द गरेसँगै प्रदर्शनले उग्र रूप लिएको हो ।
आठभन्दा बढी प्रमुख शहरमा फैलिएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । आर्थिक संकट गहिरिँदै गएपछि केन्द्रीय बैंकका गभर्नर मोहम्मदरेजा फार्जिनको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति मसूद पेजेश्कियानले पूर्वअर्थमन्त्री अब्दोल्नासेर हेम्मातीलाई नयाँ गभर्नर नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पेजेश्कियानले प्रदर्शनकारी पक्षसँग संवाद गर्न निर्देशन दिएको बताएका छन् । यता प्रदर्शनका क्रममा सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईविरुद्ध नाराबाजी भएको छ ।
अमेरिकाले इरानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाएपछि क्षेत्रीय र अन्तर्राष्ट्रिय चासो थप बढेको छ । पछिल्लो समय इरानको क्षेप्यास्त्र र परमाणु कार्यक्रमलाई लिएर बढ्दो तनाव, साथै अघिल्लो महिनाको इरान–इजरायल द्वन्द्वपछिको परिस्थितिले अवस्थालाई थप संवेदनशील बनाएको विश्लेषकहरूको भनाइ छ ।
