
शहबाज ,कपिलवस्तु
कृष्णानगर नगरपालिकाको वडा नं. ३ ले सामाजिक सुरक्षा भत्ता सम्बन्धी बायोमेट्रिक सेवा सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत सञ्चालन गरेको छ। वृद्धवृद्धा, अशक्त तथा सेवाग्राहीलाई सहज सेवा दिनु मुख्य उद्देश्य रहेको वडा अध्यक्ष सगीर अहमद खाँले बताए।
नियमित कार्यदिवसमा सेवा लिन आउन नसक्ने सेवाग्राहीलाई समस्या नहोस् भन्ने सोचका साथ वडा कार्यालयले बिदाका दिन पनि सेवा प्रवाह गरेको हो। समयमै बायोमेट्रिक गर्न नसक्दा सामाजिक सुरक्षा भत्ता रोकिने जोखिम रहने भएकाले वडा कार्यालयको यो पहलले सेवाग्राहीलाई ठूलो राहत पुगेको छ।


बिदाका दिनसमेत वडा कार्यालय खुला राखी सेवाग्राहीमैत्री ढंगले सेवा दिएकोमा स्थानीयवासीले वडा अध्यक्ष तथा वडा कार्यालय परिवारप्रति धन्यवाद र प्रशंसा व्यक्त गरेका छन्। उनीहरूका अनुसार यसले जनप्रतिनिधि र प्रशासन जनताप्रति जिम्मेवार र संवेदनशील हुनुपर्छ भन्ने सन्देश दिएको छ।
