उर्दू साहित्यमा नेपालको नाम विश्वमञ्चमा !

0
Quantam abroad studies

विद्वान शमीम अहमद नदवीलाई अन्तर्राष्ट्रिय सम्मान

शहबाज खान , कपिलवस्तु

नेपालको शैक्षिक, धार्मिक तथा साहित्यिक इतिहासमा गौरव थप्ने उल्लेखनीय उपलब्धि हासिल भएको छ। उर्दू भाषा तथा साहित्यका प्रख्यात विद्वान, लेखक तथा सम्पादक शमीम अहमद नदवीलाई अन्तर्राष्ट्रिय स्तरको सम्मान प्रदान गरिएको छ।

जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगरपालिका–३ लक्ष्मीनगरका अध्यक्ष तथा मासिक पत्रिका उर्दू अल–सिराजका सम्पादकसमेत रहेका नदवीलाई उर्दू भाषा र साहित्यमा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

यो सम्मान शमीम अहमद नदवीको व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही नेपालभित्र उर्दू भाषा र साहित्यको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि गरिएको दीर्घकालीन प्रयासको अन्तर्राष्ट्रिय मान्यता भएको विश्लेषकहरूको भनाइ छ। उनका लेखन, अनुसन्धान तथा शैक्षिक पहलहरूले नेपाल मात्र नभई सीमापारिसम्म उर्दू साहित्यको उज्यालो फैलाएको उल्लेख गरिएको छ।

sahani furniture udyog

उत्तर प्रदेश उर्दू एकेडेमीको सहयोगमा भारतको लखनउमा सम्पन्न भव्य समारोहका बीच उर्दू साहित्यका ख्यातिप्राप्त विद्वान, साहित्यकार, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूको उपस्थितिमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। छनोट समितिले नेपालका शमीम अहमद नदवीलाई उक्त सम्मानका लागि योग्य ठहर गर्दै उनको योगदानलाई उदाहरणीय र प्रेरणादायी भएको बताएको छ।

यस अवसरमा जामिया सिराजुल उलूम अल्सलफियहका प्रवक्ता मौलाना मशहूद खाँ नेपालीले भने,

“शमीम अहमद नदवीलाई प्रदान गरिएको यो सम्मान उहाँको व्यक्तिगत सफलता मात्र होइन, नेपालकै शैक्षिक र साहित्यिक यात्राको उज्ज्वल प्रतीक हो। उहाँको अथक परिश्रमले उर्दू साहित्यको क्षेत्रमा अमिट छाप छोडेको छ र यसले नेपाललाई विश्वसामु चिनाएको छ।”

उक्त सम्मानप्रति नेपालका उर्दूप्रेमी, विद्वान, साहित्यकार तथा सर्वसाधारणले हर्ष र गर्व व्यक्त गर्दै यसलाई देशका लागि ऐतिहासिक उपलब्धि तथा सांस्कृतिक गौरवको क्षणका रूपमा लिएका छन्। यस सम्मानले नेपालमा उर्दू भाषा र साहित्यप्रतिको चासो अझ बढ्ने विश्वाससमेत व्यक्त गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.